लोकप्रिय पोस्ट

शनिवार, 4 जून 2011

विद्युत् विकासको कथा र व्यथा


प्रकाश दुलाल
 
नेपालमा जलविद्युत् निर्माणको सुरुवात १९६८ जेष्ठ ९ गते फर्पिङमा ५०० किलोबाट क्षमताको चन्द्रज्योति जलविद्युत् गृहको निर्माणबाट भएको हो । यो नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना हो । वि.स. १९६४ मा चन्द्र शम्शेर वेलायतको भ्रमणमा जाँदा त्यहाँ बिजुली बलेको देखेर प्रभावित भई फर्केपछि उनले तत्कालीन राणाहरूको दरवारमा बिजुली बाल्न यो आयोजना वनाएका थिए । त्यस पछिका सुन्दरीजल -६४० किलोबाट) र पनौती -२४ सय किलोबाट) नै नेपालका पुराना जलविद्युत् आयोजनाहरू हुन । नेपालमा जलविद्युत्को विकास अवधिमा नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा हालसम्म ६४४.३३६ मेगाबाट जलविद्युत्बाट र ५३.४१० मेगाबाट तापीय ऊर्जाबाट गरी जम्मा ६९७.८४६ मेगाबाट विद्युत् क्षमता जडित छ । अहिले नेपाली विद्युत् बजारमा वर्षैभरी करिब ९४० मेगाबाट माग रहेको अवस्था छ भने हिउँद याममा कुलमागको ४८ प्रतिशत मात्र विद्युत् आपूर्ति भैरहेको छ ।
हिउँद याममा हुने विद्युत् आपूर्तिर् -४९२ मेगाबाट) मा नेपाल विद्युत् प्रधिकरणको रन अफ द रिभर प्रणालिका आयोजनाहरूबाट ४६ प्रतिशत निजी क्षेत्रबाट १९ प्रतिशत कुलेखानी जलासय युक्त आयोजनाबाट ९ प्रतिशत थर्मल प्लान्टबाट १ प्रतिशत गरी जम्मा ३७२ मेगाबाट विद्युत् उत्पादन भैरहेको छ भने भारतबाट कुल विद्युत् आपूर्तिको २५ प्रतिशत आपूर्ति रहेको छ । वर्तमान अवस्थामा नेपालको एक दिनको विद्युत् मागलाई हेरेर विश्लेषण गर्ने हो भने विहान तीन घण्टा र वेलुका चार घण्टा पिक आवरमा विद्युत्को माग अत्यधिक हुने गरेको छ । नेपालको विद्युत् खपतको विश्लेषण गर्ने हो भने वषर्ायामको तुलनामा हिउँदयाममा विद्युत्को माग धेरै हुने गरेको छ । करिब ५६ प्रतिशत नेपाली विद्युत् सेवाबाट वञ्चित रहेको वर्तमान अवस्थामा प्रत्येक वर्ष करिब १० प्रतिशतका दरले विद्युत् माग वढिरहेको छ ।
नेपालका करिब ६ हजार नदीमा वहने पानीबाट करिब ८३ हजार मेगाबाट विद्युत् निकाल्न सकिने सम्भावना रहेको भनिदै आएको छ । यो सरकारी प्रतिवेदनको आधारमा नभएर डा. हरिमान श्रेष्ठले सन् १९६६ मा आफ्नो पि.एच.डि.को थेसिसमा उल्लेख भनी भएको भनाइमा आधारित भएर भनिदै आएको हो । यस्तै हाईड्रो सालेसन प्रा.ली. ले गरेको एक अध्ययन अनुसार नेपालको जलविद्युत् उत्पादन क्षमता २४० हजार मेगाबाट र ईन्जीनियरिङ अध्यायन संस्थान पुल्चोकले गरेको अर्को एक अध्ययनले दुई लाख मेगाबाटभन्दा बढी देखाएको छ । अझ जलासययुक्त आयोजना निर्माण गर्ने हो भने नेपालको कुल जलविद्युत् उत्पादन क्षमता यो भन्दा अझै वढ््ने अनुमान छ । त्यसैले नेपालको कुल जलविद्युत् उत्पादन क्षमता कति हो भन्ने यथार्थ थाहा पाउन सरकारले अध्ययन गराउन जरुरी छ ।
प्रजातन्त्रको पुनःस्थापनापछि नेपाल सरकारले आर्थिक उदारीकरणको नीति अनुरूप विकास निर्माणका विभिन्न क्षेत्रमा निजीक्षेत्रको सहभागिता गराउने नीति लियो । जस अनुरूप सरकारले जल विद्युत् विकास नीति २०४९ र विद्युत् ऐन २०४९ लागू गर्‍यो । सो ऐन लागू भएपछि नेपालको जलविद्युत् क्षेत्रमा निजी -स्वदेशी तथा विदेशी) लगानीकर्ताहरूले लगानी गरी जलविद्युत् आयोजना विकास तथा निर्माणकार्य अगाडि बढाइरहेका छन् । करिब २० बर्ष अघि बनेको विद्युत् ऐनमा समय सापेक्ष संशोधन हुन नसक्दा यो क्षेत्रमा समस्याहरू सिर्जना भएका छन् । त्यसैले नै विगतमा दशौ पञ्च वषर्ीय योजनाले अपेक्षा गरेजति जलविद्युत् निजीक्षेत्रले उत्पादन गर्न सकेन । यसपछि निजी क्षेत्रमाथि खोलाको व्यापार गर्ने उद्देश्यले जलविद्युत् आयोजनाको लाईसेन्स लिने गरेको आरोप लगाई झोलामा खोला भनिँदै आएको छ तर अहिले सम्म निजी क्षेत्रका २२ वटा जलविद्युत् गृहबाट करिब १७० मेगाबाट विद्युत् उत्पादन भई सकेको छ भने ११ वटा आयोजना बाट करिब ५८ मेगाबाट जलविद्युत् आयोजनाको निर्माण भइरहेको छ । यस्तै करिब २१६ मेगाबाट क्षमताका करिब ४३ वटा आयोजनाहरू र सरकारी तर्फ बाट माथिल्लो तामाकाशी ४५६ मेगाबाट, चमेलिया ३० मेगाबाट, कुलेखानी तेस्रो १४ मेगाबाट निर्माण गर्ने क्रममा छन् । निजिक्षेत्रबाट नेपाल विद्युत् प्राधिकरणमा पिपिएका लागि करिब एक हजार ५८० मेगाबाट क्षमताका ११७ आयोजनाहरूले आवेदन गरेका छन् भने करिब दुई हजार मेगाबाट क्षमताका आयोजनाहरूको सम्भाव्यता अध्ययन भइरहेको छ र
निजी क्षेत्रबाट विकास तथा पहिचान गरिरहेका आयोजनाहरूबाट उत्पादित विद्युत् शक्तिलाई उपभोग स्थलसम्म पुर्‍याउन विद्युत्् प्रसारण लाईन तत्काल निर्माण गर्न सक्ने अवस्थामा सरकार छैन । त्यसैले सबै आयोजनाहरूको निर्माण अहिले नै अगाडि बढाउने सम्भावना देखिंदैन । कुनै पनि आयोजना लगानीका हिसावले सम्भाव्य हुन आयोजना निर्माण गर्न लाग्ने कुल लागत र त्यसबाट प्राप्त हुने कुल प्रतिफलको तुलनात्मक अध्ययन गर्दा लागत भन्दा प्रतिफल बढी हुन जरुरी हुन्छ । अहिलेे सम्भाव्य देखिएका आयोजनाहरू लामो समयसम्म निर्माण हुन नसकेको खण्डमा भविष्यमा लागत बढ्न गई सम्भाव्य नहुन सक्दछन् । निजीक्षेत्रले अरवौ रुपियाँ र वर्षौ समय खर्चिएर विकास गरेका आयोजनाहरू प्रसारण लाईनको अभावमा समयमै निर्माण हुन नसक्दा यी आयोजनाहरूमा उनीहरूद्वारा गरीएको अरबौ लगानी डुव्ने अवस्था आउन सक्छ । त्यसैले यस्तो परिस्थिति आउन नदिन सरकारले जलविद्युत् उत्पादकहरूका समस्याहरू के कस्ता छन् र तिनको कसरी सम्बोधन गर्न सकिन्छ भनेर गम्भीर वन्न जरुरी छ । तर सरकार जलविद्युत्को विकास नहुनुको दोष निजीक्षेत्र माथि लगाएर उनीहरूले लिएका लाईसेन्सको खारेज गर्ना साथ जलविद्युत् विकासले नयाँ गति लीने तर्क गरिरहेको छ ।
जलस्रोतको धनी मुलुक नेपालमा जलविद्युत् उत्पादनलाई प्राथमिकतामा राखी सोही अनुसारको नीति तयगरी जलविद्युत् विकासलाई तीव्रता प्रदान गर्नुपर्नेमा ऊर्जा क्षेत्रलाई हेर्ने स्पष्ट र दीर्घकालीन दृष्टिकोण नहुँदा सरकार परिवर्तन पिच्छे नीतिमा परिर्वतन हुने गरेको छ । यो कुरा गणतन्त्र नेपालका सरकारहरूले ल्याएका दस वर्षमा दस हजार मेगाबाट, विस वर्षमा पच्चिस हजार मेगाबाट तथा भरखरको ऊर्जा संकटकाल घोषणा गरेर पाँचवर्षमा पच्चीस सय मेगाबाट जलविद्युत् उत्पादनको सरकारी लक्षबाट प्रष्ट हुन्छ । यतिमात्र नभएर यहाँ ऊर्जा मन्त्री पिच्छे नयाँ नयाँ नीति आउने गरेका छन् ।
जलविद्युत् उत्पादनको सय वर्ष पूरा गरिसकेको हाम्रो देश नेपालले छिमेकी मुलुक भुटानबाट केही सिक्न जरुरी छ । जलविद्युत् उत्पादनको २० वर्षे ईतिहास बोकेको भुटानले अहिलेसम्म एक हजार ४८८ मेगाबाट विद्युत् उत्पादनगरी भुटानीको घरमा विद्युत् सेवा उपलव्ध गराइसकेको छ । ३० हजार मेगाबाट सम्भाव्यता र आर्थिक तथा प्राविधिक हिसावले लगानी गर्न उपयुक्त २३ हजार ७६० मेगाबाट क्षमता भएको भुटानले सन् २०२० सम्ममा १० हजार मेगाबाट जलविद्युत् उत्पादन गर्ने लक्ष राखेर पुनासाङ्गछु पहिलो एक हजार २०० मेगाबाट, पुनासाङ्गछु दोस्रो ९०० मेगाबाट, माङ्छेतु ७२० मेगाबाट आदि आयोजना सुरु गरिसकेको छ भने संकोष चार हजार ६० मेगाबाट यसैवर्षबाट र करीगग्री एक ८०० मेगाबाट सन् २०१२ बाट सुरु गर्दैछ ।
जलविद्युत्को विकास दु्रत गतिमा अगाडि बढाउने हो भने प्राकृतिक स्रोत र साधनमा स्थानीयको हक अधिकारलाई संसद्बाट ऐन बनाएर परिभाषित गर्न जरुरी छ । मुलुक सङ्घीयतामा जानु अगावै प्राकृतिक स्रोत र साधनको बाँडफाँड सम्बन्धी मुद्धाहरूमा स्थानीय स्तरसम्म छलफल र बहस चलाई स्थानीय जनताको राय सुझावलाई समेत समेटी यस्ता विषयको छीनोफानो गरेर मात्रसंविधान वनाउनु पर्दछ ।
 

कोई टिप्पणी नहीं: