लोकप्रिय पोस्ट

शुक्रवार, 25 मार्च 2011

तिहारको ठ्याक्कै अगाडि कामको सिलसिलामा म काम गर्ने कार्यालयको एउटा टोली ‘देश दर्शन’ मा निक्लेको थियो । भ्रमणको मुख्य उदेश्य काम नै भएकोले घुम्ने ‘मुड’ र तयारी दुवै थिएन । त्यसैले सुरुमा हिँड्दा छिटो काम सक्केर छिट्टै फर्कने सहमति बनेको थियो । पोखरा-बाग्लुङ हुँदैँ बेनीसम्म पुगेर त्यहाँबाट फेरि बुटबल-भालुबाङ हुँदैँ रोल्पाको सिमानासम्म पुग्ने कार्यक्रम बनेको थियो । करिब ४-५ दिन लाग्ने सो भ्रमणमा सबैजना छिटो काम सकेर काठमाण्डौको धूलो-धूवाँमै तुरुन्तै फर्केने मुडमा भएका र १-२ दिन ढिला भएमा तिहार छुट्ने सम्भावना रहेकोले सबैजना कतै- कुनैपनि ठाउँमा नअल्मल्लीने र सिधा काम सकेर फर्कने अघोषित सहमतिमा घरबाट हिँडेका थिए ।

तर काठमाण्डौँको धूलो-धूवाँबाट बाहीरिने बित्तिकै सबैलाई आफ्नो सहमति र ‘पूर्व सर्त’ मा पछुतो लाग्न थाल्यो । केही दिन अगाडि निक्लेको भए वा केही दिनको ‘मार्जिन’ राखेर निक्लेको भए कामको साथ-साथै अलिकता प्राकृतिक सुन्दरताको रसपान गर्न पनि मिल्थ्यो भनेर सबै जनालाई चेतना भयो । सुरुमै समय सिमा तोकेर निस्केकोले समय बढाउन सम्भव थिएन तर ‘टाइट-सेड्युल’ लाइ गर्न मिल्ने हदसम्म ‘लुज’ गर्ने प्रस्ताव गाडीमै सर्वसम्मतिमा पारित भयो ।

धेरै घुमफिर नगरे पनि कुनै सुन्दर दृश्य भएको ठाउँमा गाडी रोकेर तस्बिर खिच्ने सहमति भएपछि केही ठाउँमा गाडी रोकिए र फोटो खिच्ने अन्धधुन्द उपक्रमहरु हुन थाले। उसैपनि तस्बिर खिच्ने कौशल नभएको, ‘काम’ मात्रै गरेर फर्कने मनस्थितिमा भएको र क्यामेर बोकेर हिँडन अल्छि लाग्ने स्वभाव भएकोले मैले भने क्यामेरा समेत बोकेको थिईन। तर बाटोमा यस्ता यस्ता दृश्यहरु देखिए जसलाई देख्ने बित्तिकै अनायस सबैको मुखबाट "वाह!", "आहा!!" निक्लन थाले । ती दृश्यहरुलाई तस्बिरमा नउतार्दा ती दृश्यकै उपहास गरेको ठहरिएला जस्तो लाग्न थाल्यो । सबैजना आ-आफ्ना साथमा भएका क्यामरा, मोबाइल आदि लिएर फोटो उतार्न मस्त भएपछि मैले पनि आफ्नो मोबाइलको सहाराबाट केही फोटोहरू कैद गरेँ ।

कोई टिप्पणी नहीं: