४ जेठ, काठमाडौं ।
तपाइँ आफूले लेखेको परीक्षाको उत्तरपुस्तिकाको सही मूल्याङ्कन भएन भनेर चिन्तामा हुनुहुन्छ ? अब चिन्ता नलिनुस् ।
तपाइँले लेखेको परीक्षाको सही परीक्षण भएको छ छैन ? तपाइँको उत्तरपुस्तिका कसरी जाँच भएको छ ? अब तपाइँले हेर्न पाउनुहुनेछ ।
सर्वोच्च अदालतले विद्यार्थीले चाहेअनुसार आफूले लेखेको परीक्षाको उत्तरपुस्तिका हेर्न दिन सूचना आयोगले गरेको आदेश सदर गरेपछि विद्यार्थीहरुले आफ्नो उत्तरपुस्तिका हेर्न पाउने भएका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीश बलराम केसी र अवधेशकुमार यादवको इजलासले बुधबार उत्तरपुस्तिका हेर्न दिन सूचना आयोगले दिएको आदेश खारेजको माग गर्दै त्रिभुवन विश्वविद्यालयले दिएको रिट खारेज गरेको हो ।
सूचनाको हकसम्बन्धी ऐन २०६४ ले तय गरेअनुसार विद्यार्थीले चाहेअनुसार उनीहरुले लेखेको परीक्षाको उत्तरपुस्तिका हेर्न दिन त्रिविलाई आदेश पनि गरेको छ । साथै, आदेशमा सुरक्षालाई मध्यनजर राखी नाम गोप्य राखी उत्तरपुस्तिका दिनसमेत भनिएको सर्वोच्चका सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो ।
शंकरदेव क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी विजय अर्यालले दिएको उजुरीमा सूचना आयोगले उत्तरपुस्तिका हेर्न दिन आदेश दिएको थियो । तर, त्रिविले त्रिवि ऐनअतर्गत छ महिनापछि धुलाउने प्रक्रियाअनुसार धुलाइसकिएकाले उनको उत्तरपुस्तिकाको प्रतिलिपी दिन नसकिने जवाफ दिएको थियो ।
फेरि त्रिविकै अन्य चार विद्यार्थी केशवराज रेग्मी, शंकर पौडेल, सन्तोष न्यौपाने र सोम ढकालले आफ्नो परीक्षाको उत्तरपुस्तिका हेर्न पाउँ भन्दै आयोगमा पुनरावेदन गरेका थिए ।
उनीहरुको पुनरावेदनको सुनुवाई गर्दै अयोगले त्रिविलाई उत्तरपुस्तिका हेर्न दिन आदेश गरेको थियो । सूचना विभागका आदेश बदर गर्न माग गर्दै त्रिविले सर्वोच्चमा रिट दायर गरेको थियो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें